बीमा व्यवसायलाई स्वच्छ एवम पारदर्शी ढंगले अघि बढाउन निर्देशन

17 दिन अगाडी
बीमा व्यवसायलाई स्वच्छ एवम पारदर्शी ढंगले अघि बढाउन निर्देशन

काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन,नियम र निर्देशिकाको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवम पारदर्शी ढंगले अघि बढाउन जीवन बीमा कम्पनीका सञ्चालकहरुलाई निर्देशन दिएका छन्। 

बीमा समितिले ‘जीवन बीमासँग सम्बन्धित समस्या र समाधान’ विषयमा जीवन बीमा कम्पनी कम्पनीका सञ्चालक समितिका अध्यक्षहरुसँग काठमाण्डौमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उक्त अवसरमा सिलवालले बीमा कम्पनीका सुझावहरुलाई गम्भिरतापूर्वक लिएर नियम निर्देशिका बनाई समग्र बीमा क्षेत्रको सुधारको कार्यलाई अगाडी बढाइएको बताए। 

बीमा कम्पनीहरुमा सुशासन कायम गर्न, कारोबारलाई दुरुस्त राख्न र पारदर्शी हुन निर्देशन दिदैँ अध्यक्ष सिलवालले भने,‘बीमा कम्पनीहरुको लगानीमा विविधिकरण छैन, लगानीको वार्षिक योजना छैन, जनशक्ति विकासको कार्यक्रम छैन, बीमा सचेतना जगाउने विज्ञापनको व्यवस्था छैन, समस्या धेरै भए, यसतर्फ कम्पनीका अध्यक्षको ध्यान जानुपर्यो र अध्यक्षहरुको भूमिका प्रभावकारी हुनुपर्यो।’

उनले बीमा कम्पनीको व्यक्ति इच्छाअनुसार नभई कम्पनीहरुको रुपमा सञ्चालन हुनुपर्ने, खर्च पारदर्शी हुनुपर्ने र बीमा अभिकर्ताको कामको अनुगमन गर्नुपर्नेतर्फ अध्यक्षहरुको ध्यानाकार्षण गरे। यस्तै उनले कम्पनीका प्रमुख कार्यकारीहरुले कम्पनी कसरी चलाएका छन्, बीमा समितिको निर्देशिकाहरु पालना भएका छन् कि छैनन, नयाँ बीमालेख ल्याउने र लगानी विविधिकरण गर्नतर्फ के भएका छन् भन्ने कुराको अनुगमन रेखदेख र नियन्त्रण गरी कम्पनीमा थिति बसाल्न अध्यक्षहरुलाई निर्देशन दिए। 

यस्तै कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विश्वव्यापी कोरोना भाइरसको महामारीका बीचमा पनि नेपालको बीमा क्षेत्रले गति लिएको देखिएपनि धेरै  समस्याहरु रहेको बताए। 

उनले जीवन बीमा कम्पनीहरुको आन्तरिक कार्यविधि गुणस्तरिय नभएको, बीमांकिय मूल्यांकन समयमै गराई वित्तीय विवरण समितिमा स्वीकृतिका लागि बीमा समितिमा पेस नगरेको, यर्थाथ जोखिमांकन नगरी बीमालेख जारी हुने गरेको, लगानी निर्देशिका बमोजिम लगानी नभएको पूर्वाधार लगायतका तोकिएका क्षेत्रमा लगानी नभई बैंकको मुद्दती निक्षेपमा लगानी केन्द्रित भएको, सेयर लगानी अपारदर्शी भएको, खरिद प्रक्रिया अपारदर्शी एवम व्यवस्थित नदेखिएको, बीमितलाई छिटो छरितो रुपमा दाबी भुक्तानी नगरेको र बीमकमा सरेन्डर तथा ल्याप्स रेसियो दिनानुदिन बढिरहेको लगायतका समस्याहरु रहेको उल्लेख गरे। 

कार्यकारी निर्देशन पौडेलले लगानी विविधिकरण गर्न, नयाँ नयाँ बीमालेख ल्याउन, सुशासन कायम गर्न, क्रसहाल्डिङ भई लगानी भएकाहरुलाई तुरुन्त तोकिएको सीमाभित्र बस्न अन्यथा फोर्स मर्जमा जानुपर्ने अवस्था आउनसक्नेतर्फ ध्यान दिन स्वइच्छाले मर्जरमा जाने वातावरण तयार गर्न, वित्तीय पारदर्शिता कायम गर्न र समयमै साधारण सभा गर्न सुझाव दिदैँ कम्पनीको समस्या समाधानका लागि सञ्चालक समितिका अध्यक्षहरु नै अग्रसर हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा सहभागी जीवन बीमा कम्पनीहरुका सञ्चालक समितका अध्यक्षहरुले बीमा समितिले औल्याएका समयस्याहरु समाधान गर्न तत्पर रहेको बताए। उनीहरुलगानीको दायरा फराकिलो बनाउन, बीमा सम्बन्धि निती नियम र निर्देशिकाको समयानुकुल परिमार्जन गर्न, टिकटको व्यवस्था हटाउन, उधारो बीमा गर्न नपाउने व्यवस्थालाई नविकरणमा पनि लागू गर्न, बोनस दरमा देखिएको प्रतिष्पर्धा नियन्त्रणका लागि हस्तक्षेपाकारी निती ल्याउन, बैंकहरुसँगको साझेदारीमा लगानी गर्न पाउने व्यवस्था गर्न, करको दायरमा नपर्ने वर्गलाई पनि बीमामा आकर्षित गनै व्यवस्था गर्न, कर छुटको दायरा बढाउनका लागि पहल गरिदिन, बीमा क्षेत्रका लागि आवश्यक विज्ञ, जनशक्ति उत्पादनका लागि बीमा समितिको अग्रसरतामा बीमा कलेजजस्ता शैक्षिक प्रतिष्ठा स्थापना गनै बीमा समितिलाई सुझाव दिएका छन्।   

 


Share this with your friends: