चीनलाई भारतको झट्का, एलआईसीको आईपीओमा चिनियाँ लगानी रोक्ने तयारी

2021-09-27
चीनलाई भारतको झट्का, एलआईसीको आईपीओमा चिनियाँ लगानी रोक्ने तयारी

काठमाण्डौ । भारत सरकारले चिनियाँ लगानीकर्ताहरुलाई भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी)को सेयर खरिद गर्न रोक्ने तयारी गरेको छ ।  दुई देशबीचको बढ्दो तनावसँगै नयाँ दिल्लीले चिनियाँ लगानीकर्ताहरुलाई एलआईसीको आईपीओमा लगानी गर्न रोक लगाउने तयारी गरेको हो ।  भारत सरकारका चार उच्च सरकारी अधिकारी र एक जना बैंकरले समाचार एजेन्सी रोयटर्ससँग यस्तो बताएका हुन्। 

रणनैतिक कम्पनीका रुपमा रहेको भारत सरकारको स्वामित्वको एलआईसीले भारतीय जीवन बीमा उद्योगको ६० प्रतिशतभन्दा बढी बजार हिस्सा आगेटेको छ। ५०० बिलियन डलर बढी सम्पत्ति रहेको एलआईसीले १२.२ बिलियन डलरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। यो आईपीओ भारतीय सेयर बजारमा निष्कासन गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ हुनेछ। भारत सरकारले एलआईसीको आईपीओमा विदेशी लगानीकर्ताहरुलाई समेत सहभागी गराउने योजना बनाईरहेका बेला कम्पनीमा चिनियाँ स्वामित्व हुन नदिने प्रयासहरु भईरहेका छन्। 

दुई देशका सेनाबीच लद्याख क्षेत्रमा भएको भिडन्तसँगै गत वर्षदेखि भारत र चीनबीचको राजनैतिक तनाव उत्कर्षमा पुगेको छ। यो घटनापश्चात भारत सरकारले सम्बेदनशील कम्पनी तथा क्षेत्रमा चिनियाँ लगानीमाथि लगाम लगाईरहेको छ। यस क्रममा भारतले चिनियाँ मोबाइल एपहरु र चिनियाँ बस्तुहरुको आयातमा रोक लगाएको छ। 

एलआईसी जस्तो कम्पनीमा चिनियाँ लगानीले जोखिम निम्त्याउने भन्दै भारतका एक उच्च सरकारी अधिकारीले रोयसर्टसँग भने,‘चीनसँगको सीमा विवादपश्चात अब चीनसँग भारतको पहिलेको जस्तो व्यापार हुदैँन। विश्वासको कमी उल्लेख मात्रामा बढेको छ।’  

यस विषयमा भारतको वित्त मन्त्रालय र एलआईसीले कुनै पनि प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ। यस्तै चीनको विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले समेत कुनै पनि प्रतिक्रिया नजनाएको उल्लेख गरिएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि प्रशासनले बजेट सीमिततालाई समाधान गर्नका लागि एलआईसीको ५ देखि १० प्रतिशत स्वामित्व बिक्रीबाट १२.२ बिलियन डलर(९०० बिलियन भारतीय रुपैयाँ)जुटाउने अपेक्षा गरेको छ। सन् २०२२ मार्च महिनामा अन्त्य हुने यहि आर्थिक वर्षमा एलआईसीको आईपीओ जारी हुने बताइएको छ। 

भारतको वर्तमान कानुनअनुसार एलआईसीमा कुनै पनि विदेशी लगानीकर्ताले लगानी गर्न पाउँदैनन। तर भारत सरकारले वैदेशिक संस्थागत लगानीकर्ताहरुलाई एलआईसीको २० प्रतिशतसम्म आईपीओ खरिद गर्न दिइने जनाएको छ। 

एलआईसीमा चिनिया लगानी रोक्नका लागि एलआईसीसँग सम्बन्धित हालको प्रत्यक्ष वेदेशिक लगानीको कानुनमा संसोधन गर्नु वा एलआईसीका लागि एउटा नयाँ विशिष्ट कानुन बनाउने दुईवटा विकल्पहरु रहेको भारतीय अधिकारीहरुले बताएका छन्। 

यस्तै तेस्रो विकल्पका रुपमा चिनियाँ लगानीकर्ताहरुलाई कर्नरस्टोन इन्भेस्टर(कुनै कम्पनीको आईपीओमा निश्चित रकम वा निश्चित सेयर खरिद गर्ने प्रतिबद्धता जाहेर गर्ने लगानीकर्ता)हुन बाट रोक लगाउनु हुनसक्ने एक भारतीय अधिकारी तथा बैकरले बताएका छन्। यद्यपी यसले चिनियाँ  लगानीकर्ताहरुलाई भारतीय दोस्रो बजारमा सेयर खरिद गर्न भने रोक लगाउने सक्ने छैन। 

 


Share this with your friends: