शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, मुनाफाको अवस्था कस्तो ?

2021-11-16
शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४४ करोड ५० लाख ३८ हजार ०१० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ करोड ४० लाख ३८ हजार ०३९ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५ करोड २४ लाख  ५० हजार ८२१ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा १५.१८ प्रतिशतले बढी हो। लगानी कर्जा तथा अन्यबाट हुने आयबापत कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ५५ लाख ३६ हजार ०७८ रुपैयाँ आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले १५ करोड ७२ लाख ५२ हजार ३६४ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १४ करोड २२ लाख १२ हजार २६२ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले १०.५८ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

यो अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी १३ करोड ३६ लाख ५२ हजार ४३६ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ९.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड २३ लाख २ हजार ९६९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ३६ करोड २० लाख ५ हजार १४४ रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष १ अर्ब ११ करोड ८४ लाख ६२ हजार ०८४ रुपैयाँको थियो । कम्पनीको जगेडा तथा कोषको आकार घटेर ६३ करोड ८८ लाख ७१ हजार ९५८ रुपैयाँ सीमित भएको छ । अघिल्लो वर्ष यो कोषको आकार ८९ करोड ७४ लाखमा ८७ हजार ९४४ रुपैयाँमा सीमित थियो । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७६ हजार ९२५ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा ७६ हजार ०९७ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३०.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.९१, प्रतिसेयर नेटवर्थ २२६.७६ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ३२६.२२ रुपैयाँ रहेको छ।


Share this with your friends: