श्रीलंकाको बीमा उद्योगको बीमाशुल्क आर्जन ५.९९%ले वृद्धि, दाबी भुक्तानी ५ वर्ष यताकै कम

2021-08-12
श्रीलंकाको बीमा उद्योगको बीमाशुल्क आर्जन ५.९९%ले वृद्धि, दाबी भुक्तानी ५ वर्ष यताकै कम

काठमाण्डौ । श्रीलंकाको बीमा उद्योगले सन् २०२० मा २०८२५० मिलियन श्रीलंकन रुपि(एलकेआर) बीमाशुल्क आर्जन गरेको छ। यो रकम सन् २०१९ को तुलनामा ५.९९ प्रतिशतले धेरै हो। श्रिलंकाको बीमा नियामक‘इन्स्योरेन्स रेगुलेटरी कमिसन अफ श्रिलंका’का अनुसार सन् २०१९ मा श्रीलंकाको बीमा उद्योगले १९६४७२ मिलियन एलकेआर बीमाशुल्क आर्जन गरेको थियो। 

कोरोना महामारीले जोखिमप्रति आम मानिसहरुको चेतनाको स्तर बढाईदिएको र यसको प्रमाण जीवन बीमा कम्पनीहरुको प्रदशर्नमा देखिएको इन्स्योरेन्स रेगुलेटरी कमिसन अफ श्रिलंकाले जनाएको छ। तर महामारी नियन्त्रण गर्न जारी गरिएका लकडाउनका कारण अधिकांस निर्जीवन बीमा प्रडक्टहरुको मागमा कमी आएको कमिसनले जनाएको छ। निर्जीवन बीमाका क्षेत्रहरु जस्तै सवारी साधन, पानी जहाज, यातायात र हवाई यातायात क्षेत्रहरु लकडाउनका कारण प्रभावित भएको र यसका कारण यी क्षेत्रहरुको बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा कमी आएको कमिसनले जनाएको छ। 

सन् २०२० मा श्रिलंकाको दिर्घकालिन बीमा क्षेत्रले १०२९७४ मिलियन एलकेआर आर्जन गरेको छ। जुन रकम सन् २०१९ मा आर्जन भएको ८८७८७ मिलियन एलकेआरभन्दा धेरै हो। प्रडक्ट इनोभेसन, कार्यसञ्चालन प्रक्रियाको डिजिटलाइजेशन, वितरण च्यानलहरुको रिमोडलिङ र ग्राहक केन्द्रित अपरेटिङ मोडलहरुको प्रयोगले दिर्घकालिन बीमकहरुले सन् २०२० मा आफ्नो व्यवसायमा वृद्धि हासिल गरेको बताइएको छ। 

यद्यपी सन् २०२० मा श्रिलंकाको जनरल इन्स्योरेन्स सेक्टरको बीमाशुल्क आर्जन सन् २०१९ को तुलनामा २.२४ प्रतिशतले घट्दै १०५२७६ मिलियन एलकेआरमा सीमित भयो। जनरल इन्स्योरेन्स सेक्टरको बीमाशुल्क आर्जनमा कमी आउनुको मुख्य कारण सवारी साधनको आयातमा तीव्र कमी आउनु रहेको इन्स्योरेन्स रेगुलेटरी कमिसन अफ श्रिलंकाले आफ्नो रिपार्टमा उल्लेख गरेको छ। 

यस्तै नेशनल इन्स्योरेन्स ट्रष्ट फन्ड(एनआईटीएफ)ले निर्जीवन बीमा व्यवसायबाट अनिवार्य पुनर्बीमा योजनाबाट आर्जन गरेको पुनर्बीमा शुल्क ३२३५ मिलियन एलकेआर रहेको छ। यो रकम सन् २०१९ को तुलनामा २२.४९ प्रतिशतले कम हो। सन् २०१० मा यो रकम ४१७४ मिलियन एलकेआर थियो। 
लाइसेन्स प्राप्त बीमा कम्पनीहरुले जीडीपीको प्रतिशतका आधारमा आर्जन गरको बीमाशुल्कले प्रतिबिम्बित गर्ने इन्स्योरेन्स पेनिट्रेसन दर भने सन् २०२० मा १.३९ प्रतिशत रहेको छ। सन् २०१९ मा श्रिलंकामा इन्स्योरेन्स पेनिट्रेसन दर १.३१ प्रतिशत रहेको थियो। सन् २०१९ को तुलनामा सन् २०२० मा इन्स्योरेन्स पेनिट्रेसन दर बढेपनि यो अझैपनि एशियाका अन्य देशहरुको तुलनामा कम भएको कमिसनले जनाएको छ। 

सन् २०२० मा श्रिलंकन बीमा कम्पनीहरुको कुल सम्पत्तिको मूल्य १४.३३ प्रतिशतले वृद्धि भएर ७९६७९१ एलकेआर पुगेको छ। सन् २०१९ मा यो रकम ६९६९४१ रुपैयाँ थियो। 

समिक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ४१५१७ मिलियन एलकेआर कुल दाबी भुक्तानी गरेका छन्। जुन सन् २०१९ को तुलनामा २६.८८ प्रतिशतले कम हो। निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानीमा आएको कमीका कारण समग्र बीमा उद्योगको दाबी भुक्तानी ४९.१६ प्रतिशतले कमी आएको छ। जुन पछिल्लो ५ वर्ष यताकै कम हो। 

 


Share this with your friends: