सन् २००८ को वित्तीय संकटको तुलनामा विश्व बीमा उद्योग तीव्र गतिमा पुनरुत्थान हुने

2021-07-27
सन् २००८ को वित्तीय संकटको तुलनामा विश्व बीमा उद्योग तीव्र गतिमा पुनरुत्थान हुने

काठमाण्डौ । कोरोना महामारीको प्रभावबाट विश्व बीमा उद्योग सन् २००८ को वित्तीय संकटभन्दा तीव्र गतिमा पुनरुत्थान हुने भएको छ। न्यून ब्याज दर र मुद्रास्फिीतीको जोखिम जस्ता अवरोधहरुका बाबजुत विश्व बीमा उद्योग तीव्र गतिमा पुनरुत्थान हुने स्विस रिले जनाएको हो। 

सन् २००८ को जस्तो अहिले कोरोना महामारीले बीमकहरुको समग्र पूँजीकरण तथा वित्तीय मजबुतीलाई कमजोर नपारेका कारण बीमा कम्पनीहरुले नयाँ बीमा योजनाहरु बनाउन र आम्दानी बढाउन अवसर प्राप्त गरेको बताइएको छ। 

पूँजी घाटा, सुस्त आर्थिक वृद्धि र कम्पनी तथा व्यक्तिहरुको आम्दानीमा आएको कमीका कारण सन् २००९ र २०१० मा विश्वका बीमा कम्पनीहरुलाई नयाँ बीमा योजनाहरु ल्याउन कठिनाई भएको थियो। 

तर त्यसको ठिक विपरीत अहिले कोरोना महामारीका बाबजुत सरकारी पुनरुत्थान योजनाहरुका कारण व्यवसाय तथा आम सर्वसाधारणसँग बढी पैसा मौजाद रहेको छ। यसका साथै विश्वभरका आम सर्वसाधारणमा जोखिम विरुद्ध बीमा गर्नुपर्ने सचेतना अभिवृद्धि भएको छ। 

इन्स्योरेन्स ब्रोकर मार्स म्याकलेनका अनुसार सन् २०२१ को पहिलो त्रैमासमा विश्वको व्यवसायिक बीमा मूल्य गत वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ। सन् २०१७ पश्चात यो मूल्य वृद्धि भएको हो। 

यस्तै स्विस रिले यो वर्ष व्यवसायिक मात्रै नभई सबै प्रिमियमहरुको वार्षिक वृद्धिदर वृद्धि हुने अनुमान गरेको छ। स्विस रिले यो वर्ष प्रिमियमहरुको वार्षिक वृद्धिदर ३.३ प्रतिशत र सन् २०२२ मा ३.९ प्रतिशत पुग्ने प्रक्ष्येपण गरेको छ। सन् २००८ को वित्तीय संकटका बेला प्रिमियमहरुको वार्षिक वृद्धिदर ३.७ प्रतिशतले घटेको थियो। यो वृद्धिदर सन् २००९ मा ०.५ र २०१० मा २.१ प्रतिशतको सुस्त गतिमा बढेको थियो। 

 


Share this with your friends: