सरकारले रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानीमा समस्या

2021-07-02
सरकारले रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानीमा समस्या

काठमाण्डौ । सरकारले कोरोना बीमाका लागि रकम निकासी नगर्दा दाबी भुक्तानीमा समस्या उत्पन्न भएको छ। सरकारले दिनुपर्ने रकम नदिँदा बीमितहरुले दाबी भुक्तानी पाउन सकेका छैनन। कोरोनाको दोस्रो लहरमा संक्रमण दर उच्च रहेकै बेला अत्यावश्यक सेवा अन्तर्गत पर्ने बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी रोकेका हुन्। जसका कारण योग्य भईकन पनि नयाँ पुराना सबै बीमितहरुले कोरोना बीमा अन्तर्गतको बीमा रकम पाउन सकेका छैनन्। 

आफुले पाउनुपर्ने बीमा रकम नपाउँदा बीमितहरुलाई औषधोपचार गर्न गाह्रो परिरहेको बताएका छन्। यसका साथै बीमाप्रतिको उनीहरुको विश्वास नै गुमेको बीमितहरुको गुनोसो रहेको छ। बीमा कम्पनीहरुले भने सरकारबाट रकम नआउँदा दाबी भुक्तानी रोक्नुपरेको बताएका छन्। कोरोना बीमा अन्तर्गत गएको सातासम्म ९७ हजार ६२८ वटा दाबीको कागजात पुरा भएको छ। यो झण्डै ९ अर्ब ३७ करोड रुपैयाँबराबर हो। यीमध्ये ८० हजार २८६ दाबी भुक्तानीका लागि स्वीकृत भईसकेका छन्। यो करीब साढे सात अर्ब रुपैयाँबराबर हो। योमध्ये करीब ४ अर्ब ८१ करोड रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्। परेका दाबीमध्ये करीब साढे ५ देखि ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ। यहि रकमका लागि कम्पनीहरुले सरकारसँग माग गरेका हुन्। सरकारसँग माग गरेको यहि रकम नआँउदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको कम्पनीहरुले बताएका छन्। 

कोरोनाको बीमालेख २०७७ वैशाख ७ गतेदेखि बिक्री गर्न थालिएको हो। कोरोनाको बीमालेखमध्ये केहिको गत चैतमा सकिएको छ भने केहिको भने असारमा सकिदैछ।     

 


Share this with your friends: