११ दिनको अवधिमा ५ हजार बढीले प्राप्त गरे कोरोना बीमाको दाबी भुक्तानी

2020-12-21
११ दिनको अवधिमा ५ हजार बढीले प्राप्त गरे कोरोना बीमाको दाबी भुक्तानी

काठमाण्डौ । ११ दिनको अवधिमा ५ हजार बढीले कोरोना बीमाको दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार यस अवधिमा करीब ५ हजार ७०३ जनालाई कोरोना बीमा वापतको दाबी भुक्तानी उपलब्ध गराईएको हो। 

गत मंसिर २४ गतेसम्म ८ हजार १४५ जनालाई कोरोना बीमाको दाबी भुक्तानी गरिएकोमा पुस महिनाको ५ गतेसम्म १३ हजार ८४८ जनालाई दाबी भुक्तानी प्रदान गरिएको हो। यसरी ११ दिनको अवधिमा थप ५ हजार ७०३ जनालाई दाबी भुक्तानी उपलब्ध गराईएको समितिले जनाएको छ। 

कोरोना बीमालेख जारी भएदेखि पुस ५ गतेसम्म १३ हजार ८४८ जनालाई १ अर्ब ३५ करोड १८ लाख ७५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ। 
बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या २५ हजार ७७५ रहेको छ। ११ दिन अघि यो संख्या १७ हजार २३७ रहेको थियो। 

यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये १८९२ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या ३ हजार १११ रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका ६२४५ फाइलमध्ये अहिलेसम्म ३ हजार २३४ फाइल प्रमाणिकरण भइसकेका छन्। प्रमाणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या १ हजार ४३९ रहेको छ। 

यसैगरी २ हजार ९८४ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको र ६८ फाइल भने नक्कली भएका कारण दाबी भुक्तानी नगरिएको समितिले जनाएको छ। 

 


Share this with your friends: