काठमाण्डौ । श्री डिष्टिलरीले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि श्री डिष्टिलरीका सञ्चालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।
यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।
सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने बताएको छ ।