दुई वर्षदेखि लाभांश नबाँडेको एनआइसी एशियाको इपीएस लोभलाग्दो, निस्क्रिय कर्जा ०.६१% मा सीमित

2023-01-21
दुई वर्षदेखि लाभांश नबाँडेको एनआइसी एशियाको इपीएस लोभलाग्दो, निस्क्रिय कर्जा ०.६१% मा सीमित

काठमाडौं । पूँजीकोष अनुपात सम्बन्धी केन्द्रीय बैंकको व्यवस्थाका कारण २ वर्षदेखि लाभांश बाँड्न नसकेको एनआइसी एशिया बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण लोभलाग्दो देखिएको छ । 

दुई वर्षको लाभांश बाँड्न नपाएको यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) र रिटर्न अन इक्वीटी(आरओई) बैंकहरुमध्येकै लोभलाग्दो बनेको हो । 

एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकहरुमा लोभलाग्दो प्रगति गरेको छ । यही अवधिमा बैंकले आफ्नो लोनको पोर्टफोलियोमा ८५ प्रतिशत साना तथा मझौला र रिटेल खालका लोन प्रवाह गर्ने सफलता पाएको छ भने विषम परिस्थितिमा पनि कर्जा असूलीमा आक्रामक बन्दा निस्क्रिय कर्जा अनुपात घटाएर ०.६१ प्रतिशतमा सीमित गर्ने सफलता पाएको छ । 

आज प्रकाशित बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । 

यस बैंकले आ.व. २०७९/८० को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २६६.६८ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ । 

बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ रू. ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो । 

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल(आरओई) २४.७५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ५६.७७ आर्जन गेको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । 

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई समीक्षा अवधिसम्ममा ०.६१ प्रतिशतमा सीमित राख्ने सफलता समेत पाएको छ । 

बैंकले आ.व. २०७९/८० को दोस्रो त्रैमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थपेर कुल ग्राहक संख्या ३५ लाखभन्दा बढी पुर्याएको छ । 

समीक्षा अवधिसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा एनआइसी एशिया बैंक अग्रणी स्थानमा रहेको अनुमान गरिएको छ । 

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । 


Share this with your friends: