कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

2022-01-10
कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

काठमाण्डौ । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर एन्ड डी. इनोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ। 

नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आउँदो माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना हुन गइरहेको पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’को आयोजना आर एन्ड डी इनोभेटिभ सोलुसन्सले गर्दैछ। कृषिसम्बन्धी सम्पूर्ण सरोकारवाला जस्तै– किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्था र नीति निर्माताहरुलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उदेश्य रहेको छ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गइरहेको उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्या समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरुबीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ।

उक्त सहकार्यका लागि नबिल बैंकका तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभ सोलुसन्सका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।


Share this with your friends: