नेप्सेमा लगातार दुईदिन दोहोरो अंकको गिरावट, यस्तो रह्यो बीमाको प्रर्दशन !

2020-10-11
नेप्सेमा लगातार दुईदिन दोहोरो अंकको गिरावट, यस्तो रह्यो बीमाको प्रर्दशन !

काठमाण्डौ । गत साता गिरावटका साथ कारोबार दिनको अन्त्य गरेका बीमा समूहहरुले यो साताको सुरुवता पनि गिरावटका साथ गरेका छन्। आज साताको पहिलो कारोबार दिन जीवन बीमा र निर्जीवन बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको आम्दानीमा महामारीका कारण प्रभाव परेकाले नयाँ बीमा पोखिसी खरिद गर्नेहरुको संख्यामा कमी आएको छ। यसका साथै पुराना पोलिसीहोल्डरहरुलाई समेत कम आम्दानीका कारण प्रिमियम तिर्न हम्मे हम्मे परिरहेको छ। जसको प्रभाव बीमा कम्पनीहरुको सेयरमूल्यमा देखिएको छ। 

आज निर्जीवन बीमा समूहको परिसूचकमा ८६.३७ अंकको गिरावट आयो। यो गिरावटसँगै निर्जीवन बीमा समूह ७८११.३१ को बिन्दुमा झर्यो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखियो। 

त्यस्तै आज जीवन बीमा समूहको परिसूचक पनि १०.७१ अंकले घट्दै ९५५९.८१ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा कम्पनीहरुतर्फ आज सबैभन्दा धेरै वृद्धि नेपाल लाईफ इन्स्योरेन्सको सेयरमूल्यमा देखियो। आज नेपाल लाइफको सेयरमूल्य १.०९ प्रतिशतले बढ्दै १३८६ रुपैयाँ कायम भयो। 
यसैगरी आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। आज बीमा कम्पनीहरु तर्फ सबैभन्दा धेरै सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा गिरावट आयो। यो कम्पनीको सेयरमूल्य २.४८ प्रतिशतले घट्दै ९०४ रुपैयाँमा सीमित बन्यो। 

बजारमा अरु के–के भयो ? 
अघिल्लो कारोबार दिन जस्तै आज पनि नेप्सेमा दोहोरो अंकको पहिरो गयो। आज नेप्से परिसूचक १३.३७ अंकले घट्दै १५७६.२७ को बिन्दुमा झर्यो। केहि दिनयता देशमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सेयर बजारमा समेत यसको प्रभाव देखिन थालेको छ। कोरोना महामारीका कारण अर्थतन्त्रको दिशा स्पष्ट नभएकाले लगानीकर्ताहरुको मनोबल केहि हदसम्म कमजोर बन्न पुगेको छ। 

यो दिन बजारमा १९३ कम्पनीका ९२ लाख ८१ हजार ४७८ कित्ता सेयर २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९९ रुपैयाँमा किनबेच भयो। आज बजारमा ३२ कम्पनीको सेयरमूल्यमा वृद्धि आउँदा १३२ कम्पनीका लगानीकर्ता गुमाए। 

आज एउटा समूहको परिसूचकमा मात्रै हरियाली छायो। वित्त समूहमा १७.५ अंकको बढोत्तरी देखिएको यो दिन अन्य सबै समूहको परिसूचकमा गिरावट आयो। 

आज बैंकिङ समूह १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत २७.७५, उत्पादन तथा प्रशोधन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, र म्युचुअल फन्ड ०.१ अंकले घटे। 

आज हाइड्रो कम्पनीको सेयरमूल्यमा पहिरो गयो। आज सबैभन्दा धेरै गिरावट अपि अपी हाइड्रोको सेयरमूल्यमा आयो। यो कम्पनीको सेयरमूल्य ७.१४ प्रतिशतले घटेदै २०८ रुपैयाँ प्रतिकित्तामा सीमित बन्यो। 

त्यस्तै आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाए। यो कम्पनीका लगानीकर्ताले ९.८२ प्रतिशतले कमाए।  

 


Share this with your friends: