अर्थमन्त्री खतिवडा विदा हुने खबरले बजारमा बुम, बिमा कम्पनीहरुको मिश्रित प्रदर्शन

2020-08-26
अर्थमन्त्री खतिवडा विदा हुने खबरले बजारमा बुम, बिमा कम्पनीहरुको मिश्रित प्रदर्शन

काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा रहिरहने संभावना क्षीण बन्दै गएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारले उनको नियुक्तिको समयदेखि नै रुचाएको छैन । सेयर बजारप्रति सधैं अनुदार देखिएका डा. खतिवडाका कारण धेरै लगानीकर्ताले आफ्नो करोडौं सम्पत्ति गुमाएका चर्चा बजारमा चल्ने गर्छ । यहीकारण समेत लगानीकर्ताको मानसपटलमा अर्थमन्त्री डा. खतिवडा सेयर बजारविरोधी अर्थमन्त्रीको रुपमा परिचित छन् । बजार विरोधीको छवि बनाएका अर्थमन्त्रीले सोही हैसियतको रुपमा निरन्तरता नपाउने अवस्था बनेपछि त्यसले लगानीकर्तामा उत्साहको सञ्चार गराएको हो । 

योसँगै बजारको अस्वभाविक उतारचढावलाई न्यायपूर्ण ढंगले नियन्त्रणमा राख्ने महत्वपूर्ण मानिने स्टक डिलरको रुपमा नागरिक लगानीकोष लगायतका कम्पनीले स्थापना गरेका नागरिक स्टक डिलर बजारमा प्रवेश गर्ने मिति नजिकिँदैछ । यसले समेत अब भने बजारमा स्थायीत्व कायम हुने र धेरै नघट्ने आशासहित लगानीकर्ताले खरिदको गति बढाएका छन् । यसले पनि बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ । 

अर्कोतर्फ, बैंकहरुको न्यून ब्याजदर, कोरोनाका कारण अन्य लगानीका क्षेत्र ठप्प भई सेयर बजारमा पैसा खन्याउन आतुर देखिएका नयाँ लगानीकर्ताका कारण समेत बजारमा उच्च खरीद चाप देखिएको छ । यहीकारण बजारमा उत्साह छाइरहेको जानकार बताउँछन् । 

उनीहरुका अनुसार सेयर बजारबाट दुईचार पैसा भए पनि कमाउने आशामा नयाँ लगानीकर्ताहरु भित्रिने क्रम तीव्र छ । 

यस्तै, यही बेला सेयर कारोबार पूर्ण रुपमा अनलाइन भएको छ । घरैबाट ब्रोकरकोमा कारोबार खाता खोल्न सकिने, केवाइसी भर्न सकिने जस्ता सहज सुविधाका कारण समेत बजारमा उत्साह छाएको हो । घरैबाट लगानी गर्न सकिने भएकोले लगानीकर्ताको सहभागिता बढेर कारोबार रकम पनि २ अर्ब ६५ करोड माथि पुुगेको छ । यसले भोलिका दिनमा बजार अझै बढ्ने संकेत गरेको जानकार दाबी गर्छन् । 

यसरी बजारमा उछालको अवस्था दैनिकजसो देखिएको समयमा बिमा कम्पनीहरुमा समेत लगानीकर्ताको आकर्षण देखिएको छ । 

बुधबार निर्जीवन बिमा समूहमा ५१.६२ अंकको उछाल आयो । तर, यो दिन जीवन बिमा कम्पनीको समूहगत परिसूचक भने १७.९७ अंकले घट्यो । 

यो दिन नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए भने धेरै कमाउनेको शीर्ष १० स्थानमध्ये बिमा कम्पनीहरुले ३ स्थान मात्र कब्जा गर्न सके । 

धेरै कारोबार गर्ने शीर्ष स्थानमा परेका १० कम्पनीमध्ये ७ वटा स्थान बिमा कम्पनीहरुले कब्जा गर्नुले बजारमा बिमाको सेयर खरिदारीमा देखिएको उत्साह प्रमाणित हुन्छ । 

यो धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्र बिमा कम्पनी पर्यो । समग्रमा १० वटा बिमा कम्पनीको सेयर मूल्य यो दिन घट्यो भने १५ कम्पनीको सेयरमूल्य भने बढ्यो । 

कुन कम्पनीले कति कमाए र कति गुमाए ? माथिको टेबलमा दिइएको छ । 

 


Share this with your friends: