इन्जिनियरिङ बीमादर सम्बन्धी निर्देशिका स्थगित

2022-04-26
इन्जिनियरिङ बीमादर सम्बन्धी निर्देशिका स्थगित

काठमाण्डौ । बीमा समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ लाई स्थगन गरेको छ । विभिन्न संघ संगठनहरुको विरोध गरेपछि समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ लाई हालका लागि स्थगन गरेको हो । बीमा समितिले सोमबार काठमाडौंमा आयोजाना गरेको निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले यस्तो जानकारी दिएका हुन् ।

समितिले २०७८ साल असोज ६ गते उक्त निर्देशिका जारी गरेको थियो । तर, हाल उक्त निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।

कार्यकारी निर्देशक पौडेल संयोजक रहेका उपसमितिमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान, नेपाल बीमक सङ्घ र पुनर्बीमा कम्पनीका दुई दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासङ्घ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बीमा समितिका प्रतिनिधि सदस्य–सचिव रहेका छन् । 

उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने छ । 


Share this with your friends: