नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको विभिन्न क्षेत्रमा पौने ३६ अर्ब लगानी, सेयर बजारमा कति ?

1 महिना अगाडी
नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको विभिन्न क्षेत्रमा पौने ३६ अर्ब लगानी, सेयर बजारमा कति ?

काठमाण्डौ । नेपाल रि र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ३५ अर्ब ७४ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म स्वदेशी दुई पुनर्बीमा कम्पनीले बैंकको मुद्दती निक्षेप, सरकारी बचत ऋणपत्र, सूचीकृत सेयर जस्ता विभिन्न क्षेत्रमा पौने ३६ अर्ब लगानी गरेको हो ।  
बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम पुनर्बीमा कम्पनीहरुले सबैभन्दा धेरै सरकारको बचतपत्र तथा ऋणपत्र, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र र सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेञ्चरमा लगानी गर्न पाउने व्यवस्था छ । यस्ता खालका क्षेत्रमा पुनर्बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको २० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

त्यस्तै, प्राधिकरणका अनुसार क र ख वर्गको बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको सेयर र कृषि उत्पादन, शीत भण्डार, पर्यटन, उद्योग, जलविद्युत, शिक्षा तथा स्वास्थय जस्ता अन्य क्षेत्रमा भने १० प्रतिशत रकम लगानी गर्न पाउने सुविधा छ ।  

यसका साथै, फाइनान्सको मुद्दती निक्षेप, इन्भेष्टमेन्ट कम्पनीको सेयर र नागरिक लगानी कोष तथा म्युचुअल फण्डहरुमा भने ५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

तर लगानी गर्न पाइने व्यवस्थाका वाबजुत पनि पुनर्बीमा कम्पनीहरुले फाइनान्स कम्पनीको मुद्दती निक्षेप, घरजग्गाको कारोबार, सूचीकृत कम्पनीको बण्ड, डिबेञ्चर र ऋणपत्र, कृषि, हाइड्रोपावर, पर्यटन उद्योग तथा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्र र इन्भेष्टमेन्ट कम्पनीको सेयरमा लगानी गरेका छैनन् ।  

हिमालयन रि र नेपाल रि इन्स्योरेन्सले सबैभन्दा बढी कमर्सियल बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् । बाणिज्य बैंकको मुद्दती निक्षेपमा मात्रै २८ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ लगानी रहेको छ ।  

पुनर्बीमा ब्यवसायबाट नेपाल र हिमालयन रि ले मुद्दती निक्षेपमा नै लगानी गरी आम्दानी गरेको तथ्याङ्कले देखाउँछ । नेपाल बीमा प्राधिकरणले लगानीका लागि अन्य क्षेत्रको बाटो खुला गरिदिंदा पनि पुनर्बीमा कम्पनीहरुले बढी मुद्दती निक्षेपमा नै लगानीको दायरा बढाईरहेका छन् ।  

कमसिर्यल बैंकहरुले पछिल्लो केही महिनायता मुद्दती तथा साधारण निक्षेपको ब्याजदर घटाइरहेका छन् । पुनर्बीमा कम्पनीहरुले अर्बौ रकम बैंकको निक्षेपमा लगानी गर्दा उल्लेख्य ब्याज आम्दानी नहुन सक्छ । यसकारण बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा समेत लगानीको दायरा बढाउन पटक–पटक निर्देशन दिइरहेको छ ।

नेपाल रि को तुलनामा हिमालयन रि ले लगानीका क्षेत्रहरु बढाउन सकेको छैन । कम्पनीले दोस्रो त्रैमाससम्म ४ वटा क्षेत्रमा मात्रै लगानी गरेको छ ।  

यता सूचीकृत सेयर अर्थात सेयरबजारमा पुनर्बीमा कम्पनीहरुको ९९ करोड ६१ लाख रुपैयाँ मात्रै लगानी छ । त्यस्तै, सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरुमा ९ करोड ९ लाख रुपैयाँ लगानी छ ।  

नेपाल पुनर्बीमा कम्पनीको क्षेत्रगत लगानी  

नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिनासम्म विभिन्न क्षेत्रमा कुल २० अर्ब ४२ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीले सर्वाधिक कमर्सियल बैंकहरुको मुद्दती निक्षेपमा १४ अर्ब ९३ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा १ अर्ब ९० करोड ३२ लाख रुपैयाँ, विकास बैंकको मुद्दती निक्षेपमा २ अर्ब ३ करोड ९९ लाख, सूचीकृत सेयरमा ५० करोड ७२ लाख रुपैयाँ र म्युचुअल फण्डहरुमा ५ करोड ९ लाख रुपैयाँ लगानी छ ।  

हिमालयन रि इन्स्योरेन्सको कुन क्षेत्रमा कति लगानी ?  

हिमालयन रि इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा कुल १५ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ ।  

बीमा प्राधिकरणका अनुसार कम्पनीले ४ वटा क्षेत्रमा मात्रै लगानी गरेको छ । सबैभन्दा बढी कमर्सियल बैंकहरुको मुद्दती निक्षेपमा मात्रै १३ अर्ब ४६ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा भने कम्पनीको कुल १ अर्ब १७ करोड ७७ लाख रुपैयाँ लगानी रहेको छ ।  

साथै सूचीकृत कम्पनीको सेयर अर्थात सेयरबजारमा ४० करोड ७२ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ४ करोड रुपैयाँ र अन्य संस्थापक सेयरमा २२ करोड ९७ लाख रुपैयाँ लगानी रहेको छ ।


Share this with your friends: