जनजीवन सामान्य बन्न थालेसँगै बजारमा हरियाली, रिलायन्समा उछाल कायमै

2020-09-17
जनजीवन सामान्य बन्न थालेसँगै बजारमा हरियाली, रिलायन्समा उछाल कायमै

काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ४९.८८ अंकले बढ्दै ९८७९.९६ को उचाईमा पुग्यो। 

त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक ०.४१ को झिनो अंकले घट्दै ८१४७.४८ बिन्दुमा झर्यो। अघिल्लो कारोबार दिन यो समूहको परिसूचक ४२.३७ अंकले बढेको थियो। 

आज सबैभन्दा धेरै कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्र बीमा कम्पनीको रुपमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। यो दिन रिलायन्स लाइफको सेयरमूल्य ६० रुपैयाँले वृद्धि हुदै प्रति सेयरमूल्य ६६० रुपैयाँको उचाईमा पुग्यो। १० प्रतिशतको वृद्धिसंगै यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। अघिल्लो कारोबार दिन पनि यो कम्पनीको सेयरमूल्यमा ५४ रुपैयाँको वृद्धिसंगै पोजेटिभ सर्किट लागेको थियो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा एभरेष्ट इन्स्योरेन्स कम्पनी रह्यो। यो दिन एभरेष्ट कम्पनीको सेयरमूल्यमा ९ रुपैयाँको गिरावट आयो। यो गिरावटसैगै कम्पनीको प्रति सेयरमूल्य ५५८ रुपैयाँमा सिमित बन्यो। 

बजारमा अरु के–के भयो ? 
सरकारले आज देखि कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरेको निषेधाज्ञा हटाएसंगै आम जनजीवन सामान्यीकरणतर्फ अग्रसर भएपछि यसको प्रभाव सेयर बजारमा समेत देखियो। आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखियो। यो दिन नेप्से परिसूचक ३०.७८ अंकले बढ्दै १५७२.१८ को उचाईमा पुग्यो। यो दिन बजारमा १९१ कम्पनीका १ करोड ३२ लाख १८ हजार ६९९ कित्ता सेयर ३ अर्ब ७२ करोड २७ लाख २२ हजार १०६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा निर्जीवन बीमा समूहको परिसूचक बाहेक अन्य सबै समूहको परिसूचकमा हरियालि छायो।

आज सबैभन्दा धेरै वृद्धि होटल समूहको परिसूचकमा आयो। सरकारले होटल व्यवसाय पनि सुरक्षित ढंगले सञ्चालन गर्न सक्ने अनुमति दिएपछि होटल समूहको परिसूचकमा आज वृद्धि देखिएको हो। आज होटल समूहको परिसूचक १६१.५१ अंकले बढ्यो। 

बैंकिङ समूह २८.०७ अंकले बढेको यो दिन व्यापार ६.५६, विकास बैंक ६६.०४, जलविद्युत ८८.३८, वित्त ४१.९५, उत्पादन तथा प्रशोधन १३.३२, अन्य ८.६९, लघुवित्त १२.२१ र म्युचुअल फण्ड ०.११ अंकले बढे। 

आज नेप्सेमा कारोबार भएका १९१ कम्पनीमध्य ३० वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। आज हिमाल दोलखा हाइड्रो पावर, रिलायन्स इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल र सोल्टी होटलको सेयर मूल्य १० प्रतिशतले बढे। 

त्यस्तै आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो। कम्पनीले आज १३ करोड २३ लाख बढीको कारोबार गर्यो। यसैगरी नेपाल बैंक लिमिटेड, चिलिमे हाइड्रोपावर लिमिटेड र अपर तामाकोशिले क्रमश १२ करोड १८ लाख, ९ करोड ४४ लाख र ७ करोड ६८ लाखको कारोबार गरे। 

आज कारोबार भएका कम्पनीहरुमध्य १४१ कम्पनीको सेयरमूल्यमा वृद्धि आयो भने २४ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आयो। 

 


Share this with your friends: