बीमा कम्पनीका लागि निरश साता, एउटा बाहेक सबैको मूल्यमा गिरावट

2020-09-25
बीमा कम्पनीका लागि निरश साता, एउटा बाहेक सबैको मूल्यमा गिरावट

काठमाण्डौ । यो साता बीमा कम्पनीहरुको लागि बिर्सनलायक रह्यो। धितोपत्र दोस्रो बजारमा गत साता जस्तै यो साता पनि बीमा कम्पनीहरुको प्रदर्शन खराब रह्यो। यो साता जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका सबैजसो कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो। बीमाका लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बीमा कम्पनीहरुको बिक्री चाप बढ्न गई कम्पनीको सेयर मूल्यमा दबाव परेको हो।  

यो साता जीवन बीमा कम्पनीहरुतर्फ एउटा मात्रै कम्पनीको सेयरमूल्यमा वृद्धि आयो। एक साताको अवधिमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयरमूल्यमा २ रुपैयाँको झिनो बढोत्तरी भयो। गत साता सबैभन्दा धेरै गिरावट आएको यो कम्पनीको सेयरमूल्यमा यो साता भने सुधार आउँदै २ रुपैयाँको वृद्धि देखिएको हो। 

साताको पहिलो कारोबार दिन १४९८ रुपैयाँ रहेको लाइफ इन्स्योरेन्सको सेयरमूल्य अन्तिम कारोबार दिन प्रति सेयर १५०० रुपैयाँका साथ बन्द भयो। 
यो साता जीवन बीमा कम्पनीहरुतर्फ सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाए। यो एक साताको अवधिमा यो कम्पनीका लगानीकर्ताले प्रति सेयर १९ रुपैयाँका दरले गुमाए। कारोबारको पहिलो दिन १४०६ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्यमा अन्तिम दिन आइपुग्दा १३८७ रुपैयाँ कायम भयो। 

यसैगरी नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा पनि १८ रुपैयाँको गिरावट आयो। पहिलो दिन ७८६ रुपैयाँका साथ कारोबार बन्द गरेको यो कम्पनीको सेयरमूल्य अन्तिम दिन आइपुग्दा ७६८ रुपैयाँमा सिमित भयो। 

अघिल्लो साता जीवन बीमातर्फ सर्वाधिक आर्जन गरेका रिलायन्स लाइफका लगानीकर्ताले यो साता भने प्रतिसेयर १६ रुपैयाँका दरले गुमाए। पहिलो दिन ६६५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम दिन ६४९ रुपैयाँमा सिमित बन्यो। 

यो साता गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा पनि समान १२ रुपैयाँको गिरावट आयो। यसैगरी एसियन लाइफ र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा क्रमश ६ र ४ रुपैयाँको गिरावट आयो। 

निर्जीवन बीमा कम्पनी 
यो साता निर्जीवन बीमा कम्पनीहरुको प्रदर्शन जीवन बीमा कम्पनीहरुको भन्दा पनि खराब रह्यो। यो साता एउटा पनि निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि भएन। एक साताको अवधिमा सबै निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो। 

एक साताको अवधिमा सबैभन्दा धेरै गिरावट राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा आयो। पहिलो कारोबार दिन ११८१० रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम दिन ११६२२ रुपैयाँको बिन्दुमा झर्यो। यसरी एक साताको अवधिमा यो कम्पनीको लगानीकर्ताले प्रति सेयर १८८ रुपैयाँका दरले गुमाए। गत साता पनि यो कम्पनीको सेयरमूल्यमा सर्वाधिक ६७९ रुपैयाँको गिरावट आएको थियो। 

यस्तै शिखर इन्स्योरेन्सका लगानीकर्ताले समेत प्रतिसेयर ५४ रुपैयाँका दरले गुमाए। पहिलो दिन १३८९ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम दिन १३३५ रुपैयाँ कायम भयो। 

सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले प्रतिसेयर २३ रुपैयाँले गुमाएको यो साता आइएमई जनरल र प्रिमियम इन्स्योरेन्सका लगानीकर्ताले समान १७ रुपैयाँ, प्रभु इन्स्योरेन्स र प्रुडेिन्सयल इन्स्योरेन्सकाले समान १२ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सकाले समान ११ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले प्रतिसेयर ९ रुपैयाँका दरले गुमाए। 

यस्तै यो एक साताको अवधिमा नेपाल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा समान ७ रुपैयाँ, नेको इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सकोमा समान ३ रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स २ रुपैयाँ र अजोड इन्स्योरेन्सको सेयरमूल्यमा १ रुपैयाँको गिरावट आयो।     

 


Share this with your friends: