यो साता पनि थामिएन बीमाको पहिरो, यस्ता छन् कारण !

2020-10-16
यो साता पनि थामिएन बीमाको पहिरो, यस्ता छन् कारण !

काठमाण्डौ । बीमा कम्पनीहरुको सेयरमूल्यमा यो साता पनि सुधार आएन। गत साता जस्तै यो साता पनि बीमा कम्पनीका लगानीकर्ताका लागि निराशाजनक रह्यो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको आम्दानीमा महामारीका कारण प्रभाव परेकाले नयाँ बीमा पोखिसी खरिद गर्नेहरुको संख्यामा कमी आएको छ। यसका साथै पुराना पोलिसीहोल्डरहरुलाई समेत कम आम्दानीका कारण प्रिमियम तिर्न हम्मे हम्मे परिरहेको छ। जसको प्रभाव बीमा कम्पनीहरुको सेयरमूल्यमा देखिएको छ। निर्जीवन बीमा कम्पनीहरुको कोरोना बीमा दाबी भुक्तानी रकम अधिक रहेकाले यसले कम्पनीहरुको मुनाफामा समेत प्रभाव पार्ने देखिन्छ। जसको परिणाम स्वरुप लगानीकर्ताका ध्यान बीमा कम्पनीतर्फ जान सकेको छैन। 

यो एक साताको अवधिमा कुनै पनि बीमा कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएन। सबै जीवन बीमा र निर्जीवन बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आयो। जीवन बीमा कम्पनीतर्फ यो साता सबैभन्दा धेरै गिरावट लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयरमूल्यमा आयो। यो एक साताको अवधिमा कम्पनीको सेयरमूल्य १६ रुपैयाँका दरले घट्यो। साताको पहिलो कारोबार दिन १४६९ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन १४५३ रुपैयाँका साथ बन्द भयो।
त्यस्तै प्राइम लाइफको प्रति सेयरमूल्य १५ रुपैयाँका दरले घट्यो। साताको पहिलो कारोबार दिन ६५६ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन ६४१ रुपैयाँमा सीमित बन्यो। 
यसैगरी एक साताको अवधिमा एशिएन लाइफ इन्स्योरेन्सको सेयरमूल्य १३ रुपैयाँका दरले घट्यो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रति सेयरमूल्य १२ रुपैयाँले घटेको यो साता नेशनल लाईफ इन्स्योरेन्स ११, गुराँस लाइफ, रिलायन्स लाइफ र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य समान ८ रुपैयाँका दरले घटे। 

निर्जीवन बीमा कम्पनी 
यो साता निर्जीवन बीमा कम्पनीहरुको प्रर्दशन पनि जीवन बीमा कम्पनीको जस्तै रह्यो। एक साताको अवधिमा सबै निर्जीवन बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आयो।  यो एक साताको अवधिमा सबैभन्दा धेरै गिरावट राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा आयो। पहिलो कारोबार दिन ११७०० रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन ११६०० रुपैयाँको निम्न स्तरमा झर्यो। यसरी एक साताको अवधिमा यो कम्पनीका सेयरधनीहरुले प्रति सेयर १०० रुपैयाँका दरले गुमाए। 

यस्तै नेको इन्स्योरेन्सका लगानीकर्तापनि प्रति सेयर २४ रुपैयाँका दरले गुमाए। पहिलो दिन ८१५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन ७९१ रुपैयाँ कायम भयो। युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले प्रति सेयर १७ रुपैयाँले गुमाएको यो साता एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले १४ रुपैयाँले गुमाए। 

यस्तै प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले समान ११ रुपैयाँ, नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सकाले समान ९ रुपैयाँ, एभरेष्ट, लुम्बिनी जनरल र प्रिमियर इन्स्यारेन्सका लगानीकर्ताले समान ८ रुपैयाँ, हिमालयन जनरल, आईएमई जनरल, सगरमाथा इन्स्योरेन्स र शिखर इन्स्योरेन्सकाले समान ७ रुपैयाँ र अजोड इनस्यारेन्सका लगानीकर्ताले ५ रुपैयाँका दरले गुमाए।        

 


Share this with your friends: