यो साता बीमा कम्पनीहरुको उत्कृष्ठ पुनरागमन, निर्जीवन बीमाका लगानीकर्ता मालामाल

2020-10-02
यो साता बीमा कम्पनीहरुको उत्कृष्ठ पुनरागमन, निर्जीवन बीमाका लगानीकर्ता मालामाल

काठमाण्डौ । अघिल्लो दुई साताको खराब प्रदर्शनलाई सुधार्दै यो साता बीमा कम्पनीहरुले उत्कृष्ठ पुनरागमन गरेका छन्। धितोपत्र दोस्रो बजारमा यो साता बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखियो। यो एक साताको अवधिमा निर्जीवन बीमा समूहका सबै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो भने जीवन बीमा समूहका ५ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि भयो। 

अघिल्ला साताहरुमा बीमा समूहका लगानीकर्ता मुनाफा सुरक्षित गर्नतर्र्फ लाग्दा सेयरमूल्यमा गिरावट आइरहेको थियो। तर यो साता लगानीकर्ताहरुले बीमाका सेयरहरुको खरिद बढाएकाले सेयरमूल्यमा सकारात्मक प्रभाव देखिएको हो। 

यो एक साताको अवधिमा जीवन बीमा कम्पनीहरुतर्फ ५ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ३ वटा कम्पनीको मूल्य भने घट्यो। एक साताको अवधिमा जीवन बीमा कम्पनीहरु मध्य सबैभन्दा धेरै वृद्धि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा देखियो। एक साताको अवधिमा यो कम्पनीको प्रति सेयरमूल्य १६ रुपैयाँले बढ्यो। साताको पहिलो कारोबार दिन ६२० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन प्रति सेयर ६३६ रुपैयाँका साथ बन्द भयो। अघिल्लो साता यो कम्पनीको सेयरमूल्यमा १२ रुपैयाँको गिरावट आएको थियो।

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सको प्रति सेयरमूल्य १० रुपैयाँका दरले वृद्धि भयो। साताको पहिलो कारोबार दिन ६५८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन ६६८ रुपैयाँको उचाईमा पुग्यो। 

यसैगरी एक साताको अवधिमा नेशनल लाइफ, सूर्या लाइफ र एशियन लाइफको सेयरमूल्यमा क्रमश ९, ७ र ६ रुपैयाँको बढोत्तरी भयो। 
यो साता जीवन बीमा कम्पनीहरुतर्फ सबैभन्दा धेरै गिरावट लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा आयो। साताको पहिलो दिन १४८५ रुपैयाँका कारोकार बन्द भएको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन १४७५ रुपैयाँका साथ बन्द भयो। यसरी एक साताको अवधिमा यो कम्पनीका सेयरधनीले प्रति सेयर १० रुपैयाँका दरले गुमाए। 

त्यस्तै रिलायन्स लाइफ र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा पनि क्रमश ६ र ४ रुपैयाँको गिरावट आयो। 

निर्जीवन बीमा कम्पनी 
यो साता निर्जीवन बीमा कम्पनीहरुको प्रर्दशन जीवन बीमा कम्पनीहरुको तुलनामा अब्बल देखियो। यो साता सबै निर्जीवन बीमा कम्पनीको सेयरमूल्यमा बढोत्तरी आयो। 

एक साताको अवधिमा सबैभन्दा धेरै वृद्धि राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा भयो। पहिलो कारोबार दिन ११४५२ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम दिन ११६८० रुपैयाँको उचाईमा पुग्यो। यसरी एक साताको अवधिमा यो कम्पनीका लगानीकर्ताले प्रति सेयर २२८ रुपैयाँका दरले कमाए। 
यस्तै शिखर इन्स्योरेन्सका लगानीकर्ताले पनि प्रतिसेयर ५४ रुपैयाँका दरले कमाए। पहिलो दिन १३२१ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन १३७५ रुपैयाँ कायम भयो। 

सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले प्रतिसेयर २३ रुपैयाले कमाएको यो साता प्रिमियम इन्स्योरेन्स र नेको इन्स्योरेन्सका लगानीकर्ताले समान २२ रुपैयाँले कमाए। यस्तै एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले प्रतिसेयर २१ रुपैयाँ, प्रभु र सगरमाथा इन्स्योरेन्सकाले समान १६ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स १३ रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स १२ रुपैयाँ, नेपाल इन्स्योरेन्स ११ रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स १० रुपैयाँ, अजोड इन्स्योरेन्स ८ रुपैयाँ आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सकाले समान ६ रुपैयाँ र एनएलजी इन्स्यारेन्सका लगानीकर्ताले २ रुपैयाँका दरले कमाए। 

 


Share this with your friends: