विश्वकप फुटबलका कारण चम्किदै कतारको बीमा उद्योग, सन् २०२६ सम्म ४.७%ले वृद्धि हुने

2022-02-18
विश्वकप फुटबलका कारण चम्किदै कतारको बीमा उद्योग, सन् २०२६ सम्म ४.७%ले वृद्धि हुने

काठमाण्डौ । कतारमा आयोजना हुने विश्वकप फुटबलका कारण त्यहाँको बीमा उद्योगले फड्को मार्ने भएको छ। विश्वकप फुटबलका कारण बीमाशुल्क आर्जनका आधारमा कतारको बीमा बजार सन् २०२६ सम्ममा ४.७ प्रतिशतले वृद्धि हुँदै १.९ बिलियन अमेरिकी डलरबराबर पुग्ने अनुमान गरिएको छ। युएईमा आधारित अल्पेन क्यापिटलले एक रिपोर्ट सार्वजनिक गर्दै कतारको बीमा बजार सन् २०२६ सम्ममा १.९ बिलियन अमेरिकी डलरबराबर पुग्ने जनाएको हो। 

रिपोर्टमा सन् २०२६ सम्ममा कतारको निर्जीवन बीमा उद्योगको चक्रवृद्धि वार्षिक वृद्धिदर ४.७ प्रतिशत हुने अनुमान गरिएको। यो अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १.८ बिलियन अमेरिकी डलर पुग्ने जनाइएको छ। यो वृद्धिको मुख्य आधारका रुपमा अर्थतन्त्रमा हुने सुधार,सन् २०२२ को विश्वकप फुटबलमा हुने पर्यटकको आगमन,पूर्वाधार विकास र प्रवासी र तिनका परिवारका लागि जारी गरिने नयाँ स्वास्थ्य बीमा योजनाहरुलाई लिइएको छ। 

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल हेर्न विश्वभरका १२ लाख दर्शकले कतार भ्रमण गर्ने अनुमान गरिएको छ। पर्यटकको आगमनले कतारको अर्थतन्त्रलाई ठूलो वृद्धि प्रदान गर्नुका साथसाथै आर्थिक क्रियाकलाप बढ्नेछ। फुटबल हेर्न आउने दर्शकहरुले अनिवार्य रुपमा स्वास्थ्य बीमा खरिद गर्नुपर्ने छ र यसले कतारको बीमा उद्योगलाई सहायता प्रदान गर्नेछ। 

यस्तै हाल विश्वकपसँग सम्बन्धित पूर्वाधार परियोजनाहरुको मूल्य ३ सय बिलियन डलर भएकाले सम्पत्ति र अग्नि बीमा व्यवसाय लाइनहरुले लाभ लिन जारी राख्नेछन्। यसैगरी थप परियोजनाहरु जस्तै,विमानस्थलको विकास,मेट्रो नेटवर्क र उदयीमान शहरहरुका कारण बीमायोग्य सम्पत्तिहरु वृद्धि हुनुका साथै बीमाशुल्क आर्जन समेत बढ्नेछ। 

आगामी ५ वर्षमा जीवन बीमा उद्योगको चक्रवृद्धि वार्षिक वृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरिएको छ। यसको मुख्य आधारका रुपमा जनस्तरमा वृद्धि भईरहेको बीमा सचेतना र स्थिर रुपमा वृद्धि भईरहेको २ प्रतिशतको जनसंख्या वृद्धिलाई लिइएको छ। 

यस्तै सन् २०२६ सम्ममा कतारको बीमा प्रवेशदर ०.९ प्रतिशत रहने अनुमान गरिएको छ। 

गल्फ कर्पोरेशन काउन्सिल(जीसीसी)का देशहरुसँगको बिग्रदो कुटनितिक सम्बन्धका कारण सन् २०१५ देखि २०२० सम्म कतारको वार्षिक वृद्धिदर ३.१ प्रतिशतले घटेको थियो। जसको फलस्वरुप कतारका कम्पनीहरुले देश बाहिर रहेका आफ्ना शाखाहरु बन्द गरी सम्पत्ति बिक्री गरेका थिए। कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक दबाबले यो अवस्थालाई थप गम्भिर बनायो। 

तर सन् २०२२ को विश्वकप फुटबल नजिकिदै गर्दा कतार सरकार ठूला पूर्वाधार परियोजनाहरुमा केन्द्रित भईरह्यो। जसका कारण बीमायोग्य सम्पत्तिहरु वृद्धि हुनुका साथै पर्यटन तथा आतिथ्य उद्योगलाई टेवा पुगेको छ। 

उच्च सर्वाजनिक खर्चका बाबजुत सन् २०२० मा कतारका बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ५ प्रतिशतले वृद्धि भएको थियो। पछि यो वृद्धिलाई आर्थिक नाकाबन्दीको अन्त्य र कोरोना रोकथाम प्रतिबन्धहरुमा गरिएको खुकुलोपनले थप बल पुर्याएको थियो। 

निर्जीवन बीमा उद्योगको वृद्धिका लागि कतार सरकारले प्रवासीे स्वास्थ्य,मोटर,कामदारको मुआब्जा, इन्जिीनियरिङ र निर्माणलगायत लाइनहरुमा अनिवार्य बीमाको व्यवस्था गरेको छ। 

जीसीसी देशहरुमध्ये कतारको सबैभन्दा धेरै जीडीपी रहेको छ। अन्तराष्ट्रिय मुद्रा कोष(आईएमफं)ले सन् २०२१ देखि २०२६ सम्म कतारको जीडीपीको चक्रवृद्धि वार्षिक वृद्धिदर  २.७ प्रतिशत हुने अनुमान गरेको छ। तेलको मूल्य भईरहेको वृद्धि,पूर्वाधार निर्माणमा भईरहेको तीव्रता र प्रति व्यक्ति आयमा भईरहेको वृद्धिले यसलाई आगामी दिनमा थप बल पुर्याउने छ। 

पछिल्ला केहि वर्षदेखि कतार सरकार फिफा विश्वकप फुटबलसँग सम्बन्धित महत्वपूर्ण भौतिक पूर्वाधारमा केन्द्रित हुँदा बीमायोग्य सम्पत्ति वृद्धि भएको छ। यसबाहेक कतारको ६ वटा स्थानिय बीमकहरुको समूहले विश्वकपका लागि स्टेडियमसँग सम्बन्धित ८० प्रतिशत बीमा योजनाहरु प्राप्त गरेका छन्। 
विश्वकप फुटबललाई मध्यनजर गर्दै कतार सरकारले प्रवासी, पर्यटक तथा आगन्तुकहरुका लागि आगामी मे महिनादेखि अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने योजना बनाएको छ। यो कानुन अन्तर्गत रोजगारदाताहरुले प्रवासी कामदारहरु र तिनका परिवारलाई स्वास्थ्य बीमा प्रदान गर्नुपर्नेछ। यसबाहेक कतारमा आउने आगन्तुकहरुसँग कतारमा रहुन्जेल निजी स्वास्थ्य बीमा हुनुपर्नेछ। 

 

qatar   

Share this with your friends: